कोही पनि पत्रकार साथीहरु निष्काशनमा परेको अवस्था, खबर सुन्न नपरोस् : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गरेका छन् ।
सोमवार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गरेका हुन् ।
पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहहरुलाई प्रतिवद्धता जनाउनको लागि अपिल पनि गरेका छन् ।
उनले भने– ‘पत्रकार महासंघले कोही पनि पत्रकार साथीहरु निष्काशनमा परेको अवस्था, खबर सुन्न नपरोस् ।
कोेही पनि साथिले तोकिएको सेवा सुविधाबाट आफुलाई बञ्चित भएको गुनासो गर्ने अवस्था, त्यसको विरुद्ध अदालत जानसक्ने अवस्था नआओस् । र सबै सञ्चार संस्थाहरुले त्यहाँ काम गर्ने सबै श्रमजिवीहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण मिलाओस् ।
र उहाँहरुको पेशागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि प्रतिवद्धता जनाओस् भनेर हामीले अपिल गरेका छौँ ।’
नेपालमा कोरोना भाइरस संक्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांक पत्रकार महासंघले सार्वजनिक गरेको छ ।
२० वैशाख २०७८, सोमवार १६:२० बजे प्रकाशित













