पेरिसडाडाँमा नेताहरुको एकैस्वर : तत्काल मन्त्रिपरिषद् हेरफेर गरौं

नयाँ मन्त्री छान्ने जिम्मा ओली र प्रचण्डलाई

आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्यो । जहाँ शीर्ष नेताहरुले एकैस्वरमा सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताए ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा तत्काल मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्ताव राखेका हुन् ।
यो संगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ । यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको हल्ला गलत भएको बताउँदै मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न आश्वासन दिएका थिए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले सुझाएका तीन विकल्पमध्ये पहिलो विकल्प हो, अहिलेका सबै मन्त्रीलाई हटाउने र नयाँ मन्त्रीहरु नियुक्त गर्ने ।

दोस्रो विकल्पमा सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र पछि मन्त्री भएकालाई यथावत राख्ने प्रस्ताव आएको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसैगरी बैठकमा प्रस्तुत तेस्रो विकल्प हो( कार्यक्षमता हेरेर केही मन्त्रीलाई हटाउने र केहीलाई निरन्तरता दिने ।

बैठकमा प्रधानमन्त्रीले यसलाई प्रस्तावकै रुपमा भन्दा पनि सुझाव माग गरेको एक नेताले बताए । ‘मन्त्रिपरिषद कसरी पुनर्गठन गर्ने भन्नेबारे अध्यक्ष एवं प्रधानमन्त्रीले सुझाव माग्नुभएको हो’ एक सचिवालय सदस्यले भने, सुझावका रुपमा विभिन्न विकल्पहरु आएका छन् ।’

पार्टी एकतापछि पूर्वमाओवादीको हेडक्वार्टरमा पहिलोचोटि आयोजना गरिएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीहरुलाई एकसाथ हटाउन नहुने धारणा राखेका थिए । ‘सबै मन्त्रीलाई एकसाथ हटाउनुभन्दा राम्रो काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ बैठकमा प्रचण्डले भने, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’

त्यसैगरी वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बैठकमा बताएका थिए ।

बैठकपछि एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘आजको छलफल हेर्दा दुई कुरा प्रष्ट भएको छ, मन्त्रिपरिषद् पुनर्गठन हुन्छ तर, सबै मन्त्री हट्दैनन् । को हट्ने र को मन्त्री बन्ने अनि कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्नेजस्ता विषय टुंगिन बाँकी नै छ ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

अर्का सचिवालय सदस्यका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुन सक्छ । तर, आइतबारको बैठकमा मन्त्री बन्ने व्यक्ति र पुनर्गठनको समयबारे छलफल नभएको स्रोतको भनाइ छ ।

सोमबारको बैठक बालुवाटारमा

नेकपा सचिवालयको सोमबार दिउँसो १ बजे बालुवाटारमा बस्ने तय भएको छ । आइतबार पेरिसडाँडामा आयोजित बैठकमा प्रधानमन्त्री ओलीको उपस्थितिलाई देखेर पूर्वमाओवादी कार्यकर्ताहरु खुशी देखिएका थिए । पेरिसडाडाँमा प्रधानमन्त्रीको उपस्थितिले एकताको भाव सञ्चार भएको भन्दै सामाजिक सञ्जालमा कार्यकर्ताले बैठकका तस्वीरहरु पोष्ट गरेका थिए ।

सोमबारको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ । यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

४ असोज २०७७, आइतवार २२:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु