सर्वोच्चको आदेशले छुटेलगत्तै विप्लवका दाइ फेरि गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्दलाई थुनामुक्त भएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।

उनी विप्लवका सहोदार दाइ हुन् । भोजपुर कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चन्दलाई मंगलबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले थुनामुक्त भएलगत्तै उनलाई भोजपुर प्रहरीले पुनः पक्राउ गरेको हो ।

‘चन्द्रबहादुर चन्दलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय संखुवासभामा पठाएका छौं’, जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्ण कुमार चन्दले भने, ‘संखुवासभामा उहाँको नाममा संगठित अपराध र हातहतियारको मुद्धा विचाराधीन छ ।’

संगठित अपराध, एनसेल टावर आगजनी र हातहियार मुद्धामा जिल्ला अदालत भोजपुरले तोकेको ६० हजार धरौटी नतिरेपछि उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

सर्वोच्चले उनलाई थुनामा राख्नुपर्ने वस्तुनिष्ट आधार र प्रमाण नभएको भन्दै जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चले भोजपुरका जिल्ला न्यायाधीशले उनिसँग पर्याप्त आधार, कारण बिना नै ६० हजार धरौटी माग्नु ‘न्यायिक दृष्टिकोणबाट औचित्यपूर्ण नभएको’ फैसला गरेको छ ।

०७६ असोजमा दाङबाट पक्राउ परेका चन्द्र बहादुर चन्द ‘वीरगन्ज’लाई प्रहरीले दाङ, काभ्रे लगायतका जिल्लामा घुमाएर भोजपुर हुँदै संखुवासभा पठाएको छ ।

१० भदौ २०७७, बुधवार ०७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु