कोरोनाले काठमाडौं अशान्त र निशुल्क पीसीआर भार भो : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरसँगै उपत्यकाभरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन्।

सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्ने उनको चेतावनी छ।

उपत्यकावासीले यसअघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गर्दै मेयर शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताए।

‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उनले भने, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो।’

शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए।

‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र हो। यो औषधि होइन र यसले कोरोना रोकथाम गर्दैन,’ उनले भने।

 

६ भदौ २०७७, शनिवार १९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु