नेतृत्वलाई प्रश्न- आफैँले बनाएको पार्टी ध्वसं गरेर खरानी मात्रै दिएर जानुहुन्छ ?

 

विगत केही दिनदेखि हाम्रो पार्टीमा केही असामान्य परिस्थितिहरु सिर्जना भएका छन् । स्थायी कमिटीको बैठक नियमित सञ्चालन भएर निष्कर्षमा पुगेर बैठक सकिनुपर्ने थियो । अहिले एक हिसावले स्थगनको अवस्थामा छ ।

र चौतर्फी रुपमा दुई तीन वटा कुराहरु चलेका छन् ।

एउटा– पार्टी आफ्नो–आफ्नो गरेर जाऔं, विभाजित गरेर जाऔं । थोरै धेरै जे हुन्छ त्यो लिऔं भन्ने मत छ । त्यो मतले तलसम्म पार्टीको गतिविधिलाई खण्डित गरेर जाने कुरा गरिरहेको छ ।

एकखालका साथीहरुको कुरा छ– जे जे हुन्छ लिइहालौं भन्ने जस्तो पनि देखिन्छ । तर, हामी जस्ता सामान्य कार्यक्रता, यो पार्टीको निर्णायक कार्यक्रता पनि हौं हामी । प्रतिनिधि सभाको सदस्य छौं, दलको सदस्य पनि हो । यो बेला आफ्नो अभिमतलाई जाहेर नगरी बस्नु भनेको, कहीँ एउटा हतियार छ, सुसुजित छ तर, उसले परेको बेलामा, निर्णायक बेलामा पनि खोलेन भने त्यो हतियारको खासै अर्थ रहँदैन् । त्यहि कारणले केही कुरा बोल्नुपर्छ भनेर हामीले पार्टी एकताको पक्षमा हस्ताक्षर अभियान शुरु गरेका हौैं ।

असारको दोस्रो हप्ताबाट हस्ताक्षर अभियान गर्नुपर्छ, पार्टी एकताको पक्षमा उभिने सदस्यहरुको एउटा–एउटा मत निर्माण गरेर पार्टीलाई भन्नुपर्छ भन्ने हाम्रो अभिमत थियो । बीचमा बैठक स्थगित भइसकेपछि यो रफ्तार धिमा भएको थियो । अहिले सम्पर्क गरेर आएका छौं । मुलत पार्टी सदस्यहरु पार्टी एकताको पक्षमै हुनुहुन्छ भन्ने अभिमत दिन खोजेका हौं ।

एउटा ऐतिहासिक कालखण्डमा निर्माण भएको पार्टीलाई विभाजन गरेर त्यहि रुपमा त्यस्तै पार्टी निर्माण गरेर उठेर आउनलाई धेरै कठिन काम छ । त्यसकारण कोही पनि सदस्यहरुले पार्टी विभाजन गरेर आफ्नो आफ्नो थोरै थोरै, सानो परिवार, सुखी परिवार जस्तो बनाएर जान्छु भनेर सोच्नु भएको छ भने एउटा सिम्बोलिक पार्टी त बन्न सक्छ, मुलुकको अगुवाई गर्ने कम्युनिस्ट पार्टी निर्माण हुन सक्दैन् । र मुलुकको नेतृत्व गर्ने शक्तिशाली पार्टी पनि निर्माण हुन सक्दैन् ।

यसको राम्रो उदाहरण– ०५४ सालमा हाम्रो पार्टी विभाजन भयो । दुर्भाग्यले म त्यहि विभाजित भएको पार्टीमा लागेको थिएँ १७÷१८ वर्षको उमेरमा । त्यो पार्टीलाई लाग्दा धेरै ठूला सपना लिएका थियौं हामीले, त्यो पार्टीलाई कम्युनिस्ट पार्टीको मुल पार्टी बनाउन सकिन्छ भन्ने कुरा थियो । तर, ०५६ सालको चुनावमा जाँदा मतको हिसावले ४÷५ लाख मत प्राप्त गरेपनि पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अन्तर्गत जिरो सिट प्राप्त गर्यौं । त्यसपछि हामी भन्दा पहिले हाम्रै नेताहरु हतोत्साही हुनुभयो । त्यो आन्दोलनलाई लान सकिँदैन भन्ने कुरा उहाँहरुले नै गर्नुभयो ।

त्यसकारण देशभरै रहनु हनुने कोही पनि मान्छेले सानो पार्टी भए पनि चलाउछु भन्नुहुन्छ भने यो बेकारको न्यानो मात्रै तपाईंहरुले खोजिरहनुभएको छ जस्तो लाग्छ । पार्टी विभाजन गरेर, एउटा मुल प्रवाहको ठूलो पार्टी बनाएर, धुलो टकटकाएर हिड्न धेरै कठिन छ ।

‘कम्युनिस्ट पार्टीका लागि परिस्थिति प्रतिकुल’

आजको दिनमा एउटा कम्युनिस्ट पार्टी भन्न कुरा तपाईं र हाम्रा नेताहरुको मेहनतले मात्रै संभव छैन् । त्यसको लागि जिओपोलिटिक्स, हाम्रो भौगोलिक, सामाजिक अवस्था, हाम्रो विश्वकै राजनीति र यसको व्यवस्थाले कस्तो प्रभाव पार्छ भन्ने कुरा धेरै बिचार गर्न पर्छ । कम्युनिस्ट पार्टीमा आफैँमा सरभाइभ गर्ने कुरा आजको ग्लोबल पोलिटिक्समा धेरै डरलाग्दो, अप्ठ्यारो कन्डिसन हो ।

हाम्रा नीति, कार्यक्रमहरु, आज हामी कुन पाटोमा हिडिरहेका छौं भन्ने कुराले पनि धेरै कुरालाई निर्देश गरेको छ । कम्युनिस्ट पार्टी आफु समाजवाद स्थापना गर्छु भन्दै भन्दै जाँदा खेरि पनि हामी कुन बाटोमा कस्ता निति समातेर हिडेका छौं भन्ने कुरा हामीले आफ्नै विगत ३ वर्षलाई मुल्याङ्कन गरौं ।

दक्षिणपन्थी पार्टी भएर हिड्न पनि धेरै कठिन काम छ । किनभने यसको भोट बैंक र मत भएका अरु थुप्रै बिचारधाराका पार्टीहरु छन् ।

त्यसैले कम्युनिस्ट पार्टीकै नाम झण्डा राखेर मुल पार्टी बनाएर जाने कुरा धेरै कठिन काम हो ।

र यस्तो (पार्टी विभाजनको) दुर्भाग्यपूर्ण कदम चाल्न, कार्यक्रतलाई प्रोत्साहित गर्न, नेताहरुले यो जोखीम उठाउन आँट नगर्नुस् ।

हामीलाई कस्तो पार्टी हस्तान्तरण गरेर जानुहुन्छ ?

यो पार्टी तपाईहरुले बनाउनुभयो, आजसम्म ठूला साना धेरै ठुलाठूला अप्ठ्यारा र सजिलाहरुमा नेतृत्व गर्दै यहाँसम्म आउनुभएको छ ।

यहाँ आउनका लागि नेताहरुको धेरै ठूलो योगदान छ । यो कुरा हामी पार्टीको सदस्य भएको कारणले अवमुल्यन गर्दैनौं । तर, यस पछाडि कहाँ त ? कहाँ जाने ? यो अलमल के को अलमल हो ? यो बिचारधाराको अलमल हो कि, के को अलमल हो ? धेरै मान्छेहरुले भन्ने गर्छन कि यो पद प्राप्तीको कुरा हो ।

पद प्राप्ती भन्दा पर उठेर हेर्नुहुन्छ, भने पद प्राप्तीको लागि यस्तो आकांक्षा जाग्ने कुरा, व्यक्तिवादी प्रवृति हावी हुने कुरा पनि बिचारधाराको प्रश्न हो । आज हामी बिचारधारात्मक हिसावले असाध्धै धेरै स्खलित भएका छौं । दक्षिणपन्थको सेन्टर, दक्षिणपन्थको बाटो हिड्दै हो कि भन्ने जस्तो अवस्था पनि देखिँदैछ् । हाम्रा निति कार्यक्रम सबै हेर्दै गर्दा खेरि कहिलेकाही यस्तो लाग्छ, हामी सेण्टर टु लेफ्ट हो कि राइट हो भनेर छलफल गर्ने ठाउँ भनेको पार्टीको बैठक हुन्थ्यो । तर, त्यो बैठक बस्दैन् । छलफल हुँदैन् । जसले गर्दा हामी कता हो ? भन्ने कुरा पनि भन्न नसक्ने अवस्था छ ।

यो खालको बाटोले न कम्युनिस्ट पार्टी बन्छ । न मुलप्रवाहीकरण हुन्छ । न हामीले भोलिका दिनमा कम्युनिस्ट पार्टीको नाम झण्डासहित राज्य सत्ताको नेतृत्व गर्ने अवस्था रहन्छ । यो कुनै पनि नभएको कारणले गर्दा आज तपाईहरुले बनाएको पार्टीको विरासतमा हामी पछिल्लो पुस्ता पनि लाग्यौं । तर, तपाईहरुले कस्तो पार्टी हस्तान्तरण गर्दैहुनुहुन्छ । आज यो प्रश्न हामीले नेताहरुमाथि उठाउँदै छौं ।

चार जना नेताहरु मुलत, अहिलेको हिसावले तीन जना नेताहरु तपाईहरुले जे गरे पनि गर्नुभएको छ । तपाईहरुले हामीलाई सही ठीक बिचारधारात्मक हिसावले, बैचारिक हिसावले ठीक बाटो हिड्दै गरेको, संगठानात्मक हिसावले सुदृढ कम्युनिस्ट पार्टी हाम्रो पुस्तालाई हस्तान्तरण गर्दै हुनुहुन्छ ? या आफ्नै पुस्तामा बाँडचुड गरेर, चुडचाड गरेर, ध्वसं गरेर हामीलाई खरानी मात्रै बुझाउँदै हुनुहन्छ ? यो एउटा जबरजस्त प्रश्न हो र देशभरीका हामी सदस्यहरुको प्रश्न हो – तपाईहरुले हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दैहुनुहन्छ ? आज तपाईले हाम्रो नेतृत्व गर्दै गर्दा । त्यसको लागि कहाँ छलफल हुँदैछ ? छलफल हुने ठाउँ कहाँ हो ? यो कुराको जवाफ दिनको लागि म आग्रह गर्न चाहन्छु ।

बरु तपाईहरुलाई व्यक्तिवादले सही ठाउँमा लगेन भने पुस्तालाई हस्तान्तरण गर्ने कुराका लागि सोच्नुस् । तर, पछिल्लो पुस्तालाई हस्तान्तरण पनि किस्तीमा हुँदैन भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । त्यसको पहलकदमी गर्न हामीले के गर्नुपर्छ, पार्टी भित्रको अन्तरसंघर्षको माध्यमबाटै आफ्नो ओचित्य सावित गर्न, आफ्नो आवश्यकता पुष्टी गर्न पछिल्लो पुस्ताको नेतृत्वमाथि पनि त्यतिकै चुनौती छ हामी लाग्ने नै छौं ।

आजको दिनमा देशभरका नेकपा सम्बद्ध सदस्यहरु, नेता कार्यक्रताहरु, समर्थक र सुभेच्छुकहरु, हाम्रा भोटरहलाई संदेश यो हो कि – हामी पार्टी एकताको पक्षमा छौं । पार्टीलाई एकढिक्का गरेर, अझै सुदृढ गरेर राजनीतिक र बैचारिक हिसावले समेत सुदृढ गरेर लाने पक्षमा हामी उभिएका छौं । पार्टीलाई चुइटाएर, फुटाएर, सानो हिस्सा लगेर खाँदै गरौं भन्ने साथीहरुलाई धेरै उत्साहित नहुनुस् र सानो पार्टी बनाएर तपाईहरुले चलाएर खान सक्नुहुन्न भन्ने कुराको चुनौती सामना गर्न पनि तपाईंहरुले यो संदेश सुन्नुस् ।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व दुई कित्तामा बाँडिएकै बेला सो पार्टीका

(आइतबार सिंहदरबारमा आयोजित पार्टी एकताको पक्षमा भन्दै गरेको नेकपाका ६३ जना सांसदले गरेको हस्ताक्षर सार्वजनिक गर्न आयोजित कार्यक्रममा सांसद राम कुमारी झाँक्रीले व्यक्त गरेको बिचार)

२९ साउन २०७७, बिहीवार ०७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु