आफ्नै मुटुको ढुकढुकीमा रहेको “मृत्यु”

12571025_935377629873792_228593888_nसशिल चालिसे – बिहानै देखि चिसो हावा चल्दै थियो, नौ बज्नै आँट्दा पनि घामको एक झुल्को देख्न पाइएको थिएन। बर्षकै सबै भन्दा चिसो दिन थियो त्यो।  त्यो दिन राती सपना पनि कस्तो कस्तो देखिएको थियो, चारैतिर चिता नै चिता जलिरहेका। सपना मा पितृ पनि देखिएका थिए। पितृ बोलेका थिएनन् तर म एकतर्फि बोलिरहेको थिएँ। गन्जागोल सपना देखिएको थियो। थाहा छैन सपनाले भविष्यसँग कुनै सम्बन्ध राख्छ राख्दैन तर भुत र बर्तमानसँग जरुर सम्बन्ध राख्दछ।

चिसो रात, झ्याकझुक सपना, टोपी बिना सुतेको, त्यसमाथी ढिला सुतेको थिएँ। बिहान उठ्दा टाउको मन्द मन्द दुखिरहेको थियो। बिहान उठ्दा ढिला उठेछु, उठेर घडि हेर्दा साँढे आठ बजेको रहेछ। हतार हतार खाना बनाएँ। नौ बजेभित्र खाना तयार गर्नु थियो।  खाना बनाएर खाना खाएँ , ब्रस गरेँ अनि अरु नित्य कर्म गरेँ। धुलै धुलो भएको रहेछ झोला, त्यसलाई टक्टकाएर डायरी, मोबाइलको चार्जर अनि एउटा किताब राखेँ। म घर जाँदै थिएँ त्यो दिन।

गलबन्दिले मुख छोपेको थिएँ, घरकै कुकुरले पनि नचिनेर भुक्यो। एकछिनमा पुच्छर हल्लाउँदै पछि लाग्यो। बाइक झिकेर पुछ्न् के लागेको थिएँ, कुकुर फेरि बेस्सरी भुक्यो। मैले मतलब नगरि बाइक स्टार्ट गरेँ। आएर खुट्टामा टोकिदियो अनि डराउँदै घरभित्र पस्यो। बाइक अल्लि पर के पुर्याएको थिएँ कुकुर त भुक्दै पछि लाग्यो। अनि बाइक रोकेर कुकुरलाई लिएँ, कुकुर अझैसम्म भुक्दै थियो। पसलबाट एउटा चोकोफन किनेर दिएँ अनि गेटभित्र पठाएँ तर अझै पनि मलाई हेर्दै भुक्दै थियो।

बाइक नतातेर होला, दुइपटक सम्म रोकियो। आज बाइक चलाउन पनि अल्लि अफ्ट्यारो महसुस भएको थियो।
एकछिनमा इन्जिन तात्यो अनि एक्सिलेटर कन्ट्रोल गर्न त्यत्ती गार्हो भएन। आजभोली उपन्यास लेख्ने भुत चढेको छ। त्यसैले मेरो ध्यान मेरो नायिका कस्ति हुन्छे, मेरो नायक कस्तो हुन्छ, नायक नायिकाको भेट कसरी हुन्छ, अनि नायकको कुन कमजोरी हुन्छ जस्को कारणले नायिकाले नायकसँगको सम्बन्ध टुटाउँछे भन्ने मा मात्र केन्द्रित हुन थालेको छ।

बाइक आफ्नै गतिमा बग्दै गयो। म मेरो कल्पनामा हराउँदै गएँ। पासाङ ल्हामु जोड्ने बाटो, अर्थात माच्छापोखरी पुगेपछी मैले मेरि नायिका भेटेँ, मैले चाँचरिलाई भेटें। सानी फुच्ची ,गोरि, चन्चले, हल्का रातो ओठ, गोरो मुहारको बिचबिचमा राता गाला भर्खरै पाक्न लागेका स्याउजस्ता, छोडेको कपाल। मैले नायिका पाएँ, मलाई ऊ मन पर्यो।
एउटा केटालाई कहिले लात्ती देखाउँथि त उसको पिठ्युँमा प्याट्ट पिट्थी। सायद मेरि नायिकाको नायक हुनसक्थ्यो ऊ।मलाई उसको चन्चले बानि पनि मन पर्यो। उस्को चाँचरको जस्तै स्वर थियो, त्यसैले मैले उसलाई चाँचरी भनेको हुँ।  तर मलाई नायक मन परेन। मलाई भलादमी नायक चाहिएको छ। मेरो नायक अन्तर्मुखी स्वभावको हुनेछ, अनि नायिका अरुसँग नजिस्कोस भन्ने सोच्छ।
होइन, म नायकलाई जन्म दिन्छु, नायिका उसले आफैँ खोज्नेछ।

मैले बाइक रोकेरै नायिकालाई हेरिरहेको थिएँ। अब त उस्ले पनि हेर्न थाली, ऊ मलाई देखेर मुस्कुराइ अनि म पनि मुस्कुराएँ। एकछिनमा उसले आफ्नो साथिलाई कोट्ट्याइ, त्यसपछी दुबैजना मलाई हेर्दै हाँस्न थाले। म त्यत्तिकै उसलाई हेरिरहेँ। अरु साथिहरु भने माइक्रो आउँछ कि भनेर हेर्दै थिए।  नायिका माइक्रो कुर्दै थिइ र माइक्रो आइहाल्यो पनि। मेरि नायिका माइक्रोमा चढी। हेहे होइन होइन, मेरि नायिका होइन, मैले कल्पना गरेको मेरो उपन्यासकी नायिका जस्तै केटि।

मेरो स्पिड बढ्यो, मेरो होइन बाइकको। अगाडि कुकुरहरु रहेछन। मैले साइडबाट लान खोजेँ, तर कुकुर पनि त्यै दिशा मा दौडियो, झन्डैले नलागेको लेग गार्डले। कुकुर बाल बाल ठोक्किनबाट बच्यो।  बाटो खाली थियो, मेरो स्पिड झनै बढ्यो। अरु एक दुई वटा बाइक पनि दौडिरहेका थिए, पल्सर, सिबिजेड, स्पेन्डर। मैले बाइकको म्याक्सिमम् गियर अनि मक्सिमम् एक्सिलेटर दबाएको थिएँ। अरु सबै बिस्तारै पछाडी पर्दै गए।

रमाइलो लाग्दै थियो, मौसम चिसो थियो। मेरो तातो सास धुँवा बन्दै उडिरहेको थियो। मलाई औधी रमाइलो लागिरहेको थियो। कास स् मेरि प्रेमिका भैदिएको भए। मौसम रमाइलो थियो या मेरो कल्पना। तर रमाइलो नै थियो। बिना ब्रेक, बिना गियर चेन्ज मात्र एक्सिलेटर दबिइरहेको थियो।

कल्पनामा हराउँदै, चिसो मौसमको रसस्वादन गर्दै म अगाडि बढ्दै गएँ। अगाडि फोहोर बोक्ने दुइवटा गाडीहरू रहेछन, मैले फोहोरको दुर्गन्धबाट वच्न पनि ओभरटेक गर्नु थियो, र गरेँ। तर ओभरटेक गर्दै गर्दा अगाडिबाट आर्मिको ट्रक आउँदै रहेछ, त्यो पनि स्पिडमै थियो। मैले कि त ब्रेक लगाउनुपर्थ्यो कि त स्पिड अझै बढाउनुपर्थ्यो। मैले ब्रेक लगाउनु सम्भब देखिन, किनकी मैले दुइवटा ट्रकलाई एकैपटक ओभरटेक गरेको थिएँ। त्यसैले स्पिड अझ बढाएँ र आर्मिको अगाडिबाट आउँदै गरेको ट्रक र फोहोर बोकेर यताबाट जाँदै गरेको ट्रकको बिचबाट बाइक छिराएँ। बाइक लगभग घढ डिग्री ढल्केको थियो। तिनवटै ट्रकहरुले ब्रेक लगाए, ती ठुला ट्रकहरुको बिचमा ज्ञद्दछ सिसिको बाइकले निकालेको आवाज महसुस नै गर्न सकिँदैनथ्यो। ती ब्रेकको आवाजले मेरो कान वारपार गरे। त्यो आवाज मलाई चलचित्रमा ठूलो राक्षसले निकाल्ने आवाज जस्तै महसुस भयो तर पनि म बचेँ, सायद यमराजले पर्याप्त गृहकार्य गर्न पाएका थिएनन्।

अल्लि पर पुगेपछी मेरो मुटु जोरजोरले धड्किन थाल्यो, म भर्खरै एउटा सम्भाबित दुर्घटनाबाट बचेको थिएँ, म मृत्युको मुखबाट जोगिएको थिएँ। डर र रोमान्चकता दुबै महसुस भए मेरो मनमा। डर यसकारणकी म बाल बाल बचेको थिएँ, रोमान्चकता यसकारणकि मैले चलचित्रमा देखाउने स्टन्ट रियलमै गरेको थिएँ, मैले पहिलो पटक त्यति स्पिडमा कुदाएको थिएँ अनि मैले बाइक ढल्काएको त्यो सबैभन्दा बढी थियो।

एक सेकेण्ड पर्याप्त रहेछ मृत्युको लागि। मलाई ठमेलमा भएको सानो दुर्घटना याद आयो, जहाँ एक सेकेण्डको द्दण् हजार परेको थियो। द्दघ नम्बर रुटको गाडिको ड्राइभरले पछाडिको गाडी कहाँ आइपुग्यो भनेर लुकिङ ग्लास के हेरेको थियो, अगाडिपट्टी बाइकमै बसिरहेका मानिससहित बाइकलाई लडाइदियो। मान्छेको उपचार अनि बाइकको उपचार गराउनुपर्ने भयो। एक सेकेण्ड अगाडि ड्राइभरले अगाडि हेरेको भए द्दण् हजार जोगिने थियो।

भर्खरै म दुर्घटनामा पर्नबाट जोगिएको भन्ने पत्त्यारनै लागेन। अब मेरो उपन्यासमा पनि नायक दुर्घटनामा पर्नेछ, उसको हात भाँच्चिनेछ अनि नायिकासँग मिलनको कारण त्यही नै हुनेछ। फेरि सोचाइमै डुब्न लागेको थिएँ, अगाडि परेवा चरिरहेको रहेछ, मैले बाइकको स्पिड घटाउनु आवस्यक ठानिन, किनकी परेवा त उडिहाल्थ्यो। तर परेवा उडेन, चिसोले कठ्याङृयको त्यो परेवा नउडेपछी मैले एकैचोटी बाइक रोक्नुपर्यो। राजमार्ग छेउका अल्छी मानिसहरु कोदो कुट्नको अल्छिले कोदो सडकमै छोड्छ्न् अनि गाडिको टायरले अल्छिहरुको काम गरिदिन्छ। परेवा त्यही कोदोमा चर्दै रहेछ, म त्यही कोदोमा चिप्लिएँ, तर मैले बाइक लड्नबाट जोगाउन ह्यान्डललाई सिधा बनाएँ, अगाडि त टर्निङ रहेछ। फेरि बाल बाल जोगिएँ, भिरबाट झर्नबाट।

बिहानको सपना याद आयो, भुकम्प आउँदाको मौसमको पनि सम्झना भयो, घरको कुकुर पनि याद आयो, आज मलाई डर लाग्यो। बिस्तारै बाइक चलाएँ, घ मिनेटजती पछि पसल आयो। बाइक रोकेँ, यस्तो चिसोमा पनि एक मग पानी पिएँ अनि चिया मगाएँ, खाजा पनि खाएँ। बाइक फेरि स्टार्ट गर्ने आँट नै आएन, मैले आज मेरो मृत्यु देखिरहेको थिएँ। जीवनमा पहिलोपटक सुरक्षित अवस्थामा हुँदा पनि मृत्युको भय मनमा आएको थियो।

आज म साँच्चै मर्छु, किनकी आज मेरो दिन नै आइसकेको छ। बाइक रफ त म जहिल्यै चलाउथेँ तर यस्तो भएको थिएन। कुकुरको भुक्नुपर्ने थिएन, टोक्नुपर्ने थिएन, मैले नराम्रो सपना आजै देख्नुपर्ने पनि थिएन। परेवा त्यहिँ चर्नुपर्ने थिएन, चरेपनी उड्नुपर्ने थियो, कोदो टर्निङ नजिकै राखिनुपर्ने थिएन।  हो, आज साँच्चै म मर्छु, मैले जस्तो राम्रो चलाएपनी म मर्छु। जसरी मरेपनी म मर्छु, गाडिले ठोकेर, या भिरमा झरेर, इट्स माई लास्ट डे१ विभिन्न दुर्घटनामा परेका मानिसहरुको रगताम्य अनुहार याद आयो, अनि मैले मेरै त्यस्तै अनुहार देखें।

एकदिन मर्नुनै त छ, के डररु यस्तै सोचिन्थ्यो पहिले, किनकी त्यति बेला मृत्यु अगाडि थिएन, तर अहिले मेरो आँखा अगाडि मृत्यु नाचिरहेको छ।  बाइक स्टार्ट त गरेँ तर रोकिएको रोकियै गर्यो, सायद एक्सिलेटर कम भयो। बल्ल अगाडि बढाएँ अनि अगाडि देखिने हरेक चिया पसलमा बाइक रोकेर चिया पिएँ। अब अझै मेरो गन्तव्यमा आइपुग्न आधा घण्टाको बाटो थियो। म बिस्तारै चलाइरहेको थिएँ, अगाडिबाट मिनि ट्रक आयो। मेरो हात काप्न थाल्यो, ह्यान्डल पनि कन्ट्रोल गर्न अफ्ट्यारो महसुस भयो। भाइ चलाउन आउँदैन कि क्याहोरु, त्यही ट्रकको एकजनाले बाइक उठायो, गाडी मेरो छेउ आइपुग्नु भन्दा अगाडी नै मैले बिच सडकमा बाइक ढालेछु।

जीवनमा पहिलो पटक फुल ट्याङ्की पेट्रोल भएको नया बाइक मलाई घाँडो भएको थियो। बाइक चलाउन भन्दा पछाडी बस्न आनन्द हुने कुरा महसुस गर्दै थिएँ। कसरी पुग्नु म घरसम्म, म जति डराउँदै थिएँ उति गडबड हुँदै थियो। मैले सोच्ने बिषय पनि पाएको थिइन। खै कता गइ नायक, कता गइ नायिका, कुनै पत्तै भएन। मलाई घरपुग्नु थियो, बस यत्ती नै।

अगाडिबाट गाडी आउँदा म ओरै रोकेर बस्थेँ। अगाडिबाट स्पिडमा बाइक आउँथे म रोकेर पहिले तिनिहरुलाई पास हुन दिन्थेँ।

अगाडि माइक्रो लाई ओभरटेक गर्दै एउटा बाइक आयो। मलाई म मर्छु भन्ने मात्र लागिरहेको थियो। त्यो बाइकले मलाई हान्छ भन्ने लाग्यो, अनि मैले बाइक लेफ्ट बाट राइट साइड लगेछु, थाहा छैन डर के हो जसले दिमाग रित्तो बनाइदिन्छ।

मेरो आँखा त्रिशुली अस्पतालमा खुल्यो। यसो हेरेँ, बट्टारमा बस्ने आफन्तहरु देखेँ, माइक्रो चालक, ट्राफिक, पुलिस सबै त्यहीँ थिए। आत्तिनुपर्दैन हात मात्र भाँचिएको छ। पल्लो बेडमा त्यही बाइकवाला सुतिरहेको रहेछ। माइक्रोले मलाई बचाउन खोज्दा त्यो बाइकलाई चाहिँ हानेछ, म चाहिँ आफैँ लडेको रहेछु। खुशी लाग्यो, म बाँचेछु, अब मैले बाइक घरसम्म पुर्याउनु पर्दैन। पल्लो पट्टि बेडमा बिरामिका आफन्त हरु पनि आए, पुलिसहरु मलाई भन्दा त्यो मान्छेलाई हेरिरहेका थिए। म के सोच्दै थिएँ मलाई नै थाहा थिएन, म मात्र खुशी थिएँ। दिमागमा के के चल्दै थियो, पल्लो पट्टि एउटि महिला डाँको छोडेर रोइन।

कमजोरसँग युद्द कसैले गर्दैनन्। मैले त मृत्युु सँग आत्मसमर्पण गरेको थिएँ। शत्रु नै भएपनी कोहि पनि शरणमा आउनेलाई केही गर्दैनन्। मलाई मृत्युले केही गरेन। मेरो सट्टामा त्यो पल्लो मान्छे रोजेछ।

युवा कथाकार सशिल चालिसेका कथाहरु अब तपाईले नियमित रुपमा  www.epublickhbar.com मा पढ्न सक्नुहुनेछ ।

३० पुस २०७२, बिहीवार ०८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु