आज क्रिसमस डे, उद्धौली पर्ब र योमरी पुन्हि
क्रिसमस डे
काठमाडौँ, पुस १० । आज इसाई धर्माबलम्बीहरूको सवैभन्दा ठुलो चाडका रुपमा आज क्रिसमस डे मनाइदैछ । इसाई धर्मका मुख्य प्रवर्दक तथा गुरु जिसस क्राइष्टको जन्मदिनको अवसरमा हरेक बर्ष डिसेम्बर २५ का दिन क्रिसमस डे मनाइन्छ । क्रिसमस डेका दिनदेखि लगातार १२ दिनसम्म क्रिसमस टाइडका रुपमा विशेष उत्सव गरिन्छ । जन्मोत्सवको अवसरमा चर्चहरुमा भेला भएर विश्वभरिका क्रिस्चियन धर्मावलम्बीले मुख्य चाडका रुपमा क्रिसमस डे मनाउँदछन् । सवै धर्म र संस्कृतिको सम्मान स्वरुप आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । यस दिन क्रिस्चियनहरुले शुद्ध हृदयले प्रभु येशूका प्रमुख वचनहरु बाचन गरी प्रार्थना गर्ने गर्दछन् । आजको दिन क्राइष्ट अर्थात प्रभु येशूको जन्म भएको विश्वास गरिएको छ । आज क्रिसमस ट्रिलाई रङ्गाएर बत्ति र खेलौनाहरु सहितले सजाएर झकिझकाउ पार्ने गरिन्छ ।
प्राचिन रोममा इसापूर्व ३५४ देखि क्रिसमस डे मनाउन थालिएको पाइन्छ । क्रिस्चियन धर्मशास्त्रको लिखत बाइबल अनुसार पवित्र आत्माबाट गर्भधारण भएर कन्या आमाको कोखबाट येशूको जन्म भएको थियो । इसाई धर्मावलम्बीले मारियम नाम गरेकी ती अविवाहित कन्याको कोखबाट येशूको जन्म भएको विस्वास गर्दछन् । पछि मारियमको विवाह यसुफसंग भएको थियो । येशूले सवै मानव समुदायको कल्याणका लागि संसारमा जन्म लिएको भनि उनीहरुका विवाहका वेला भविष्यवाणी भएको थियो । जिससको खास जन्म महिना र मिति यहि नै हो भन्नेबारे उल्लेख गरिएको पाइदैन । क्राइष्टका अनुयायीहरु सम्मलित वेस्टर्न क्रिस्चियन चर्चले वहाँको जन्म डिसेम्बर २५ भनेको र त्यहि मिति नै वास्तविक क्राइष्टको जन्म दिन भएको बताउँदै आएको छ । यध्यपि उक्त मिति पनि जिसस गर्भमा बसिसकेपछिको नौ महिनापछिको भएको बताइन्छ । जिसस मानिसलाई अन्याय, अत्याचार तथा विभेदबाट मुक्ति दिलाउन क्रुसमाथि चढेर आफ्नै बलिदान दिने एक सहासिक व्यक्ति हुन् । इसापुर्व सम्वत अर्थात इस्वी सम्वत उनै जिसस क्राइष्टको सम्झनामा प्रारम्भ भएको सम्वत हो ।
नेपालमा भने साँस्कृतिक कार्यक्रम गरेर शुभकामना साटासाट गरेर क्रिसमस डे मनाइन्छ । नेपालमा करीव आठ हजारभन्दा बढी चर्चहरु रहेकाछन् र आज तिनै चर्चहरुमा क्राइष्टको जन्मोत्सव गरी क्रिसमस डे मनाइदैछ । क्राइष्टको प्रशंसायुक्त प्रार्थनापछि अङ्गुरको जुस (दास रस) पिउने र केक काट्ने परम्परा रहेको छ ।
योमरी पुन्हि
नेवार समुदायले आज योमरी पुन्हि मनाउँदैछन् । नेपाल सम्वत् अनुसार मंसिर शुक्ल पूर्णिमा अर्थात थिंलाथ्व पुन्हिका दिन मनाइने यस पर्वलाई नेवारी भाषामा योमी पुन्ही पनि भनिन्छ । विशेषगरी नेवारी समुदायमा आजको दिनलाई किसानहरुको उत्सवका रुपमा मनाइन्छ । काठमाण्डौ उपत्यकामा बसोबास गर्ने नेवार समुदायले आजको दिनलाई ज्यापु दिवसका रुपमा मनाउँदछन् ।
नेपाली संस्कृतिको प्रमुख प्रतिनिधि नेवार समुदाय वा संस्कृतिलाई मान्न सकिन्छ । नेवारी संस्कृति भन्नु नै ज्यापू संस्कृति हो । त्यहि भएर योमरी पुन्हिलाई ज्यापू संस्कृति, मौलिक संस्कृति र जीवन्त संस्कृतिका रुपमा बुझिएको हो । आज सांस्कृतिक झाँकी सहित र्याली निकालिन्छ । नेवारी समुदायमा योमरी पुन्हिको विषेश महत्व हुन्छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँ बालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडिचुँडी खानु नै यमरी पुन्हि मनाउनु हो । अण्डाकार रुपमा बनाइएको पिठोभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी भरिन्छ । उक्त योमरीलाई तयार गरेपछि खानुभन्दा पहिला अन्न भण्डार गरिएको भकारीमा चढाई अन्नप्रति श्रद्धा जनाइन्छ र घर परिवार सवै मिलेर योमरी खाइन्छ । यसो गर्नाले अन्नबाली सप्रिएर आर्थिक लाभ र धनसम्पति प्राप्त हुने विश्वास रहेको छ ।
उधौली पर्व
नेपालको पुर्वी भू-भागमा रहेका राई, लिम्बु, सुनुवार, थामी लगायत किरात समुदायमा आज उधौली पर्व मनाइदैछ । प्रकृति र पितृहरुको पूजा गरी उधौली पर्व मनाइदैछ । किरात समूदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्ना कुल देवि देवतालाई चढाएर मात्र खाने दिनका रुपमा यो चाड मनाउँछन् । उधौली अन्तरगत आ–आफ्नो रिती परम्परा अनुसार लिम्बुले चासो तगनाम पर्व, याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर मनाउँछन् । किरात समुदायको मुख्य पर्व साकेला उभौली अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा मनाइन्छ भने उधौली अन्न बाली भित्र्याउने बेला मंसिर पूर्णिमाका दिन मनाइन्छ । यस पर्वका अवसरमा साकेला सिली नाच नाच्ने गरिन्छ । उधौली पर्वले मानिस, जनावर तथा चराचुरुङ्गीहरु लेकबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ ।
नदी तथा खोलामा पाइने माछा उँधो अर्थात ओरालोतिर बगेर धेरै पानी भएको समुन्द्रतर्फ बसाइँ सर्ने समयलाई किरात समुदायमा उधौली भनेको पाइन्छ । उँधो शब्दबाट नै उधौली भएको र त्यसै अनुसार पर्वको नामाकरण गरिएको किरात समुदायभित्र विश्वास छ । उधौलीलाई किरात समुदायले मुख्य चाडको रूपमा मान्ने गर्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेन्वा, सिमेभूमे पूजा, खोल स्यादर, उधौली र भूमिपूजा आदि नामले चिनिन्छ । मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल जस्ता जाती किरात सभ्यताभित्रका जातजातीहरु हुन् । उनीहरुले आफ्नो जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने गर्दछन् ।
नेपाल बाहिर किराँत समुदायको बसोबास रहेको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत त्यहाँको स्थानीय उपलब्धता अनुसार उधौली पर्व मनाई साकेला नाचिन्छ । उधौलीका अवसरमा आफ्ना चेलीबेटी, आफन्त, नातागोता र कुलकुटुम्बहरुलाई घरमा बोलाएर परिकारहरु बनाई ख्वाउने चलन छ ।
१० पुस २०७२, शुक्रवार ०४:२४ बजे प्रकाशित